


काठमाडौं,५ असार । नेपाली कांग्रेस सोलुखुम्बुका नेता तथा महाधिवेशन प्रतिनिधि प्रकाश सिंह कार्की सम्मानित भएका छन्।
सोमबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले कार्कीलाई सम्मान गरेका हुन्। कार्कीले पार्टी पुस्तकालय स्थापना गर्न आर्थिक तथा भौतिक सहयोग गरेबापत उनलाई सम्मान गरिएको नेपाली विद्यार्थी संघका केन्द्रीय सदस्य दिनराज बास्तोलाले जानकारी दिए।
पार्टीको पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित उक्त कार्यक्रममा पुस्तकालय स्थापनार्थ योगदान पुर्याउने अन्य दाताहरुलाई पनि सभापति देउवाले सम्मानपत्र प्रदान गरेका थिए।
सो कार्यक्रममा सभापति देउवासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री भिष्म आङदम्बे, महालक्ष्मी उपाध्याय डिना लगायत शीर्ष नेताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा फैलाउन पुस्तकालय स्थापना जस्ता कार्य प्रभावकारी हुने बताए। उनले भने, “कांग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षालाई व्यापक बनाउन सकेमा पार्टीलाई बहुमत प्राप्त गर्ने शक्तिका रूपमा अघि बढाउन सकिन्छ।”

