


सल्यान,साउन १, २०८२ — नेचासल्यान गाउँपालिका–२ स्थित ऐतिहासिक बुधबारे बजारमा सार्वजनिक शौचालय, ट्रस्ट भवन र बजार व्यवस्थापनको काम सम्पन्न भएको छ।
वडाध्यक्ष सिताराम काफ्लेको नेतृत्वमा बजार क्षेत्रलाई व्यवस्थित बनाउन थुप्रै चुनौतीहरूका बीच उल्लेखनीय प्रगति भएको छ। वडा अध्यक्ष काफ्लेले पहिलेको अव्यवस्थित टहरा हटाएर ट्रस्ट भवन निर्माण, शौचालय निर्माण तथा बजार व्यवस्थापन कार्य सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय बासिन्दाको सहकार्य र बजार व्यवस्थापन समितिको समन्वयमा यो कार्य सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै स्थानिय ताराबहादुर खत्रीले बुधबारे बजारलाई व्यवस्थित बनाउने अभियानमा विशेष भूमिका निर्वाह गर्ने वडाध्यक्ष काफ्लेलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रम बुधबारे बजार क्षेत्रमै आयोजना गरिएको थियो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष धनजन राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने उपाध्यक्ष बिना राई विशेष अतिथि रहनुभएको थियो। कार्यक्रमको सभापतित्व बुधबारे बजार व्यवस्थापन समितिका अध्यक्ष बालकुमार कार्कीले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडा सदस्यहरू, बजार व्यवस्थापन समितिका पदाधिकारीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुबैले बजारको व्यवस्थापन र पूर्वाधार विकासका लागि वडा कार्यालयले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा समेत थप सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका सभापति बालकुमार कार्कीले बजार व्यवस्थापन समितिको तर्फबाट समग्र सहयोगी पक्षप्रति आभार व्यक्त गर्दै बजार क्षेत्रको समुन्नत भविष्यको लागि अझ सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो।

उक्त औपचारिक कार्यक्रम बुधबारे बजार व्यवस्थापन समितिका सचिव सुरज केसीले सञ्चालन गर्नुभएको थियो।
बुधबारे बजारमा अहिले देखिएको रूपान्तरणले गाउँपालिका भित्रका अन्य क्षेत्रलाई पनि प्रेरणा दिने अपेक्षा लिएको छ।

