


सल्यान, असार १९ — महिलाहरूको सशक्तिकरण तथा दिगो जीविकोपार्जनका लागि आवश्यक सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्यले नेचासल्यान गाउँपालिका–२, सोलुखुम्बुमा दुई दिने विशेष तालिम सुरु भएको छ।

सल्यान सामुदायिक सिकाई केन्द्रको आयोजनामा सुरु गरिएको तालिम बीपी संस्कृत माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन भइरहेको छ। कानुनी परामर्श, बचत तथा आयआर्जन, शैक्षिक जनचेतना, महिला स्वास्थ्य, पशुपालन संरक्षण र करेसाबारी व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा केन्द्रित यो तालिम २०८२ साल असार १९ र २० गते सञ्चालन हुँदैछ।
तालिममा ६० भन्दा बढी महिलाहरूको उत्साहजनक उपस्थिति रहेको छ। कार्यक्रमको सभापतित्व भेषकुमार बास्तोलाले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष धनजन राई रहनुभएको थियो भने उपाध्यक्ष बिना राई, प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे, शिक्षा शाखा प्रमुख माधवमणि ढुङ्गाना, वडा नं. २ का वडाध्यक्ष सीताराम काफ्ले, तथा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल राय यादवको विशेष उपस्थिति रहेको थियो।

तालिमको पहिलो दिन शिक्षा शाखा प्रमुख माधवमणि ढुङ्गानाले शैक्षिक जनचेतनासम्बन्धी सत्र सञ्चालन गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले लैङ्गिक हिंसाविरुद्धको विषयमा जानकारीमूलक कक्षा लिनुभयो। डा. अनिल राय यादवले महिला स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विषयमा प्रशिक्षण दिनुभयो।

दोस्रो दिन (भोलि ) प्रमुख प्रशासकीय अधिकिकृत युवराज पोख्रेलले आयआर्जनका उपायहरूबारे जानकारी दिनेछन्। कृषि तर्फ बाट भीम भट्टराईले करेसाबारी व्यवस्थापनसम्बन्धी सत्र सञ्चालन गर्नेछन्। विनोद कोइरालाले पशुपालनसम्बन्धी ज्ञान बाँड्ने कार्यक्रम तालिकामा समावेश गरिएको छ।
यस तालिममार्फत महिलाहरूलाई व्यवहारिक ज्ञान प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको सल्यान सामुदायिक सिकाई केन्द्र का अध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनुभयो।


