


सोलुखुम्बु, असार १८ – नेचासल्यान गाउँपालिका–२ दोदिमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएका छन्।

सल्यान बाट बुधबारे बजारतर्फ जाँदै गरेको बा.प्र.०२–०४१ प ०७५८ नम्बरको मोटरसाइकल र बुधबारे बजारबाट सल्यानतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ५००० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको अस्थाइ प्रहरी चौकी सल्यान ले जनाएको छ।

दुर्घटनामा बुधबारे बजारबाट सल्यानतर्फ जाँदै गरेका मोटरसाइकलका चालक नेचासल्यान गाउँपालिका–२ का खुरच्याङ राई गम्भीर घाइते भएका छन्। उनलाई स्थानीयले तत्काल प्राथमिक उपचारका लागि दोदि स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए। तर अवस्था गम्भीर भएपछि सल्यान प्राथमिक स्वास्थ्य केन्द्रले उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरेको छ।

त्यस्तै, अर्को मोटरसाइकलका चालक किशोर नेवार र पछाडि सवार उनकी धर्मपत्नी रुपा नेवार सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

