


असार १२ सोलुखुम्बु, कोशी प्रदेशमा सम्पन्न आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण तालिम सकेर फर्किएका प्रशिक्षक ताराबहादुर खत्री ( मिलन )को सक्रिय सहभागितामा भलिबल सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेचासल्यान गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका भरिका ६ वटा माध्यमिक विद्यालयका खेलकुद शिक्षकहरूलाई भलिबलसम्बन्धी जानकारी दिइएको थियो। प्रशिक्षक खत्री मिलनले तालिममा सिकेका प्रविधि, नियम र प्रशिक्षणका विधिहरूबारे विस्तृत जानकारी दिनुभयो।
अन्तरक्रियामा खेलकुदलाई स्थानीय तहमा मजबुत बनाउन आवश्यक पर्ने पूर्वाधार विकास, नियमित प्रशिक्षण, खेल सामाग्रीको सुनिश्चितता र संस्थागत समन्वय जस्ता विषयमा समेत छलफल भएको थियो। प्रशिक्षक मिलन केसीले खेल क्षेत्रलाई प्रभावकारी बनाउन विद्यालय, पालिका र समुदायबीचको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
उक्त प्रशिक्षक प्रशिक्षण तालिममा A+ प्राप्त गर्दै कोशी प्रदेशस्तरबाट कुसल प्रशिक्षकमा पर्न सफल ताराबहादुर खत्री (मिलन)लाई कार्यक्रममै बधाई दिइएको थियो। गाउँपालिकाले प्रशिक्षक खत्रीलाई बधाईसहित थप प्रगतिको शुभकामना समेत दिएको हो ।
कार्यक्रममा पालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे, शिक्षा शाखा प्रमुख माधवमणि ढुङ्गाना लगायत गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले स्थानीय तहमा खेलकुदको दिगो विकासका लागि प्रशिक्षकको भूमिका कति महत्वपूर्ण छ भन्ने सन्देश दिएको छ।

