


सोलुखुम्बु, असार २४ — नेचासल्यान गाउँपालिकाको १७ औँ गाउँसभा पालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५१ करोड ६६ लाख २० हजार ८ सय त्रियासी रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिका उपाध्यक्ष विना राईले आगामी वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। प्रस्तुत कार्यक्रमले स्थानीय आवश्यकता र योजना प्राथमिकताका आधारमा कृषि, स्वास्थ्य तथा रोजगारी क्षेत्रलाई विशेष जोड दिएको छ।

सभा दौरान आर्थिक विकास समिति संयोजक सिताराम काफ्लेले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी वडा नं. ३ का अध्यक्ष सिताराम भट्टराईले राजस्व सम्बन्धी विधेयक, र वडा नं. ५ का अध्यक्ष राजनकुमार राईले विनियोजन विधेयक सभा समक्ष पेश गर्नुभएको थियो।

सभापति राईले बजेट प्रस्तुत गरेपछि सम्बोधन गर्दै भन्नुभयो, “यस वर्ष हामीले स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखेका छौँ।” बैठक असार ३० गतेसम्मका लागि स्थगित गरिएको छ। स्थगित बैठकले नीति, कार्यक्रम र बजेट पारित गर्ने कार्यसूची रहेको अध्यक्ष राईले जानकारी दिनुभयो।

