नेचा सल्यान–१ मा वडास्तरीय नीति तथा कार्यक्रम सुझाव सभा सम्पन्न, समावेशी र दिगो विकासमा जोड

असार ७ ,सोलुखुम्बु– नेचा सल्यान गाउँपालिका वडा नं. १ मा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तर्जुमा गर्न वडास्तरीय राय, सुझाव र सल्लाह संकलन कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रम भूमेश्वरी माध्यमिक विद्यालय ख्याम्पु को सभाहलमा सम्पन्न भएको हो।

गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बृहत छलफल कार्यक्रममा विभिन्न टाेलका प्रतिनिधि, राजनीतिक दलका अगुवा, शिक्षक, कृषक तथा वडा नं. १ भित्रका सबै टोलका नागिरकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, भाषा–संस्कृति संरक्षण, सामाजिक समावेशीकरण लगायतका क्षेत्रमा केन्द्रित सुझावहरू प्रस्तुत गरिए।

उठेका प्रमुख सुझावहरू यस प्रकार रहेका छन्:

कार्यक्रममा सहभागीहरूले अघिल्लो वर्ष सुरु भएका तर अधुरा रहेका योजना सम्पन्न गर्न जोडदार माग गरेका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईले जनताको सरोकार र आवश्यकता बुझेर नीति निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय सरकारले जनताको आवाजअनुसार प्राथमिकताका साथ बजेट विनियोजन गर्छ। अधुरा योजनाहरू सम्पन्न गर्न र दीर्घकालीन, परिणाममुखी र समावेशी विकासका कार्यक्रमहरू अघि बढाइनेछ।” अध्यक्ष राईले कृषक, शिक्षक, युवाहरू, अपांगता भएका व्यक्तिहरू, महिला लगायत सबै समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै वडाध्यक्ष रमेश कुमार राईले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै जनप्रतिनिधि र जनताबीचको सहकार्यले मात्र सशक्त विकास सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “वडाको आवश्यकता वडावासीले नै चिन्ने हो। हामीले सुनेका सुझावहरू वडाको हितका लागि अमूल्य छन्। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र संस्कृति सबै क्षेत्रमा समन्वयात्मक विकास गर्ने हाम्रो उद्देश्य हो।” वडाध्यक्ष राईले अधुरा योजनालाई यस आर्थिक वर्षमा पूरा गर्ने, दीर्घकालीन दृष्टिकोणसहितका योजनामा प्राथमिकता दिने र वडाबासीको सहभागिता सुनिश्चित गरिने पनि स्पष्ट पार्नुभयो।

प्रतिक्रिया