सोलुखुम्बुमा ‘ट्राफिक सप्ताह २०८२’ सम्पन्न :सडक अनुशासनका लागि प्रहरीको पहलमा व्यापक उत्साहजनक जनसहभागिता

सोलुखुम्बु, असार ६– ‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण’ भन्ने मूल नाराका साथ सोलुखुम्बुमा ट्राफिक सप्ताह–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विविध जनचेतनामूलक गतिविधिहरू सम्पन्न भएकाे हाे।

कार्यक्रमको प्रारम्भ बिहान ७:४५ बजे जिल्ला समन्वय समितिको प्राङ्गणबाट सवारी सचेतना र्याली निकाल्दै भएको हो। र्याली सोलुदुधकुण्ड नगरपालिका–५ स्थित उद्योग वाणिज्य संघको सभाहलमा पुगेर समापन भएको थियो, जहाँ औपचारिक कार्यक्रमसहित श्रव्यदृश्यमार्फत ट्राफिक नियमबारे प्रस्तुति दिइएको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी मनोजित कुँवरले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा उपप्रमुख गान्धी माया तामाङ सहभागी हुनुहुन्थ्यो।

उपमेयर तामाङले नगरपालिकाले दुर्घटना न्यूनीकरणका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै ट्राफिक सचेतनामूलक कार्यक्रममा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनोज कुमार घिमिरेले ट्राफिक नियम पालना नगरी दुर्घटनालाई नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सबैलाई सचेत र जिम्मेवार हुन आग्रह गर्नुभयो।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष रामलाल श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सवारी चालक, यातायात व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

डीएसपी कुँवरले आफ्नो सम्बोधनमा, “सडकमा जीवनको मूल्य बुझेर मात्रै सवारी चलाउनु आजको आवश्यकता हो,” भन्दै सवारी चालकको जिम्मेवार व्यवहारले मात्र दुर्घटना घटाउन सकिने धारणा राख्नुभयो।

कार्यक्रम कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको सहकार्यमा सम्पन्न भएको हो।

सप्ताहभरि विभिन्न विद्यालय, सार्वजनिक स्थल तथा यातायात कार्यालयहरूमा ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण, प्रशिक्षण र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इञ्चार्ज प्रहरी नायब निरीक्षक कृष्ण कट्वालले जानकारी दिनुभयो।

कार्यक्रमले सुरक्षित र अनुशासित सवारी व्यवस्थापन प्रतिको आवश्यकता अझ गहिरो रूपमा सार्वजनिक बहसमा ल्याएको आयोजकहरूको विश्वास छ।

प्रतिक्रिया