


सोलुखुम्बु, – थुलुङ दुधकोशी गाउँपालिका–६, मुक्लीमा आयोजित वडास्तरिय आधारभूत तह हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन विद्योदय आवासीय विद्यालय (आवि) दुबै तहमा प्रथम स्थान हासिल गर्न सफल भएको छ।
वडामा रहेका ६ विद्यालयबीच सम्पन्न प्रतियोगिताको कक्षा १ देखि ५ सम्मको समूहमा त्रिभुवन विद्योदय आवि ‘क’ समूह प्रथम भएको हो। यस समूहमा सात विद्यार्थी सहभागी थिए। पञ्चकन्या आवि द्वितीय र बिरेन्द्रोदय मावि तृतीय स्थानमा रहे।
त्यस्तै, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूबीच भएको अर्को प्रतिस्पर्धामा पनि त्रिभुवन विद्योदय आविको ‘क’ समूहले प्रथम स्थान हासिल गरेको छ। उक्त तहमा आठ समूह सहभागी थिए। यसमा बिरेन्द्रोदय मावि द्वितीय र त्रिभुवन विद्योदय आविको ‘ख’ समूह तृतीय बनेको वडा सचिव युवराज राईले जानकारी दिए।

विजेता समूहहरूलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजारसहित प्रमाणपत्र तथा शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो। साथै, सहभागी विद्यालयहरूलाई पनि प्रोत्साहन स्वरूप १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक महेन्द्र दीप राईले जानकारी दिए।

प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले औसत ७१ प्रतिशत र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले औसत ६६ प्रतिशत सही उत्तर दिएका थिए।
शैक्षिक सत्रको प्रारम्भमै विद्यार्थीहरूको सिकाइ अवस्था मूल्याङ्कन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ अन्तर्गत बालमैत्री कार्यक्रमको बजेटबाट प्रतियोगिता आयोजना गरिएको थियो।

अध्यक्ष राईका अनुसार आजको प्रतियोगिताका नतिजा र तथ्याङ्क सुरक्षित राखेर सत्रको अन्त्यमा पुनः मूल्याङ्कनका लागि यही प्रकृतिको कार्यक्रम पुनः सञ्चालन गरिनेछ।

कार्यक्रमको विश्वसनीयता र स्तरीयताको लागि प्रश्नपत्र निर्माण तथा निर्णय प्रक्रियामा कालिका देवी माविका प्रधानाध्यापक प्रकाश थुलुङ राईलाई निर्णायक प्रमुखको जिम्मेवारी दिइएको थियो।

