नेचासल्यान, सोलुखुम्बु — नेचासल्यान गाउँपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरूलाइ लक्षित गर्दै “विद्यालय नेतृत्व सीप तथा क्षमता विकास गोष्ठी” कार्यक्रम शनिबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
व्यानर पढेर गाउँपालिका अध्यक्ष धनजन राईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त गोष्ठी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा शिक्षा अधिकृत माधवमणि ढुङ्गानाले २०८१/०८२ सालको शैक्षिक बजेटको स्थिति, नेचासल्यानको हालको शैक्षिक अवस्था, साक्षरताको दर, र शिक्षा क्षेत्रमा देखिएका प्रमुख चुनौतीहरूबारे विस्तृत रुपमा जानकारी दिनुभएको थियो। साथै, आउँदो २०८२/०८३ सालका लागि शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने रणनीति र प्राथमिकताका विषयमा स्पष्ट दिशा निर्देश समेत प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे, सबै वडाका वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो।
२०८२/०८३ सालका लागि शिक्षा क्षेत्रलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रत्येक वडाबाट एक जना विद्यालयका प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाई बोल्ने अवसर दिइएको थियो। उनीहरूले आउँदो वर्षको शैक्षिक बजेट कुन शीर्षकमा कसरी प्रयोग गर्दा प्रभावकारी हुन्छ, शिक्षण पेशामा देखिएका समस्या के–के छन्, र ती कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सुझाव तथा विचार व्यक्त गरे।
सबै वडाबाट आएका सुझावहरू गुणस्तरीय शिक्षा, विद्यार्थीमैत्री वातावरण र शिक्षकहरूको सशक्तिकरणमा केन्द्रित, यथार्थपरक र व्यावहारिक रहेको सहभागीहरूले बताएका छन्।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैले शिक्षा क्षेत्रमा सुधार ल्याउन यस्ता कार्यक्रमहरू आवश्यक रहेको धारणा राख्दै, पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागी प्रधानाध्यापकहरूका अनुसार, यस्तो समावेशी, संवादात्मक र व्यवहारिक कार्यक्रम नेचासल्यान गाउँपालिकाको शैक्षिक इतिहासमै पहिलोपटक आयोजना भएको बताए । उनीहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।कार्यक्रमले योजना, नीति र क्रियान्वयनबीचको अन्तर घुलनलाई बलियो बनाउँदै शिक्षा क्षेत्रलाई अझ सुदृढ बनाउन मद्दत गर्ने गाउँपालिका शिक्षा शाखा ले विश्वास व्यक्त गरेको छ ।