हिमगंगा मा.वि. द्वारा शिक्षा शाखा संयोजक रेखराज बस्नेतको बिदाई, सम्मान तथा “फेरि भेटौला” कार्यक्रम सम्पन्न

लिखुपीके, सोलुखुम्बु— हिमगंगा माध्यमिक विद्यालय, लिखुपीके गाउँपालिका–३ काफ्लेचौरद्वारा आयोजित एक विशेष समारोहका बीच बुधबार (२८ गते )पूर्व प्रधानाध्यापक तथा लिखुपीके गाउँपालिका शिक्षा शाखा संयोजक रेखराज बस्नेतलाई बिदाई, सम्मान तथा “फेरि भेटौला” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि लिखुपीके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेत रहनुभएको थियो। उहाँले बस्नेतद्वारा स्थानीय शिक्षामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

रेखराज बस्नेतको शैक्षिक यात्रा गाउँकै विद्यालयबाट सुरु भएको हो। उहाँले कक्षा १ देखि ७ सम्म श्री हिमगंगा मा.वि. चौलाखर्कमा अध्ययन गर्नुभएको थियो भने कक्षा ८ देखि १० सम्म श्री पद्मोदय मा.वि. काठमाडौँ, प्रमाणपत्र तह श्री महेन्द्र रत्न क्याम्पस काठमाडौँ, स्नातक तह श्री ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु र स्नातकोत्तर तह श्री भक्तपुर बहुमुखी क्याम्पसबाट सम्पन्न गर्नुभएको हॊ।

शिक्षण पेशामा उहाँको योगदान झनै उल्लेखनीय छ। वि.सं. २०४४ सालदेखि २०७९ साल असोज ३ गतेसम्म शिक्षण क्षेत्रमा क्रियाशील रहँदै, बस्नेतले आफ्नो कर्मक्षेत्रका विद्यालयहरूमा उल्लेखनीय योगदान गर्नुभयो। विशेषतः श्री जनसेवा आधारभूत विद्यालयलाई नि.मा.वि. मा परिणत गर्न देखि हिमगंगा मा. वि. लाई कालो सूचीबाट हटाउने, भौतिक संरचना निर्माण, पुस्तकालय, विज्ञान प्रयोगशाला तथा कृषि प्राविधिक शिक्षालय स्थापनाजस्ता महत्वपूर्ण कार्यहरूमा उहाँको अग्रणी भूमिका रह्यो।

उहाँको नेतृत्वमा जनसेवा आधारभूत विद्यालयले जिल्ला प्रथम पुरस्कार (रु. २५,०००) समेत हासिल गरेको थियो।

शिक्षा प्रशासनको क्षेत्रमा पनि उहाँको भूमिका उस्तै प्रशंसनीय रह्यो। वि.सं. २०७९ साल असोज ४ गतेदेखि २०८२ साल जेठ १० गतेसम्म लिखुपीके गाउँपालिका शिक्षा शाखा संयोजकको रुपमा कार्य गर्दै उहाँले शिक्षामा नीतिगत सुधार, अनुगमन र विद्यालय सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिनुभयो। उहाँले शिक्षा क्षेत्रमा मात्र नभई विभिन्न खेलकुद तथा अन्य कार्यमा पनि उत्तिकै महत्वपूर्ण योगदान दिनुभएको छ।

कार्यक्रममा बोल्दै रेखराज बस्नेतले अब बाँकी जीवन सहरमा नभई गाउँमै बसेर समुदाय र समाज सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा लिखुपिके गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रसासकिय अधिकृत , सम्पूर्ण वडाका वडा अध्यक्ष , शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय अगुवा तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति थियो। सम्मान कार्यक्रममा उहाँको योगदानको स्मरण गर्दै मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो।


“पुर्खाको पाइला पछ्याउँदै शिक्षाको उज्यालो फैलाउने बीज रोप्ने काममा रेखराज बस्नेत सदैव प्रेरणाका पात्र रहिरहनेछन्।”

प्रतिक्रिया