सल्यान ,सोलुखुम्बु— नेचासल्यान गाउँपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा २०८२ साल जेठ २५ र २६ गते Covid-19 विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
खोप अभियान अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा मात्र १२४ जनाले खोप लगाएका छन्। सो केन्द्रमा कार्यरत वरिष्ठ अनमी गङ्गा राईका अनुसार खोप लगाउनेहरूमा विशेषगरी विद्यार्थी, कार्यालय कर्मचारी र जेष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यो खोप कार्यक्रम मुख्यतः १२ वर्ष पूरा भई अहिलेसम्म Covid-19 विरुद्धको खोप नलगाएका व्यक्ति, वा १ मात्रा (Dose) लगाएका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको थियो।
यस अभियानमा Booster Dose, First Dose, तथा Second Dose सबै प्रकारका खोप उपलब्ध गराइएको थियो, जसले गर्दा सबै वर्गका व्यक्तिहरूले आवश्यक खोप लिन सक्ने वातावरण सुनिश्चित गरिएको थियो।
खोप अभियानलाई सफल बनाउन सम्पूर्ण स्वास्थ्यकर्मीहरू तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू सक्रिय रूपमा खटिएका थिए। उनीहरूको समर्पण र सहयोगले गर्दा खोप कार्यक्रम सहज र व्यवस्थित रूपमा सम्पन्न भएको स्वास्थ्य केन्द्रले जनाएको छ।
खोप अभियानप्रति स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया जनाएका छन्। धेरै नागरिकहरूले आफूहरूले खोप लिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर चलिरहुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।