नेचासल्यान गाउँपालिकामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेचासल्यान , सोलुखुम्बु – इलाका प्रहरी कार्यालय नेचा र नेचासल्यान गाउँपालिकाको सहकार्यमा आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आइतबार नेचासल्यान गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुँवरले शान्ति सुरक्षा, अपराध रोकथाम तथा नियन्त्रणका विषयमा विस्तृत रूपमा जानकारी दिनुका साथै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, कर्मचारी, र अन्य समुदायका अगुवाहरूसँग परिचयात्मक तथा अन्तरक्रिया गर्नुभयो।

कार्यक्रममा स्थानीय समस्याबारे छलफल हुँदै गर्दा विभिन्न मुद्दाहरू उठान भएका थिए।

नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले शारीरिक हिंसाका घटना नदेखिए( नभेटिए )पनि सामाजिक सञ्जालमार्फत हिंसात्मक, दुरुपयोगपूर्ण व्यवहार बढ्दो रहेको बताउँदै यस्ता घटना अनुसन्धानको दायरामा ल्याइनु आवश्यक रहेको बताउनु भयो।

डीएसपी मनोजित कुँवरले स्थानीय तहसँगको सहकार्यमा अपराध नियन्त्रणका लागि जनचेतना, सूचना संकलन र प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए। उनले समुदायसँगको समन्वयमार्फत अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्याक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले सुरक्षा निकायप्रति विश्वास बढ्दै गएको जनाउँदै अझ प्रभावकारी संवाद, सजगता र सहकार्य आवश्यक रहेको सुझाव पनि दिएका थिए ।

प्रतिक्रिया