सोलुखुम्बु, थुलुङ दुधकोशी —जय नेपाल फाउन्डेसन सोलुखुम्बुको आयोजनामा थुलुङ दुधकोशी गाउँपालिका–२ स्थित ठकुमाला आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा सो सामग्री वितरण गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा जय नेपाल फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष नवीन थापाले विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गर्दै शिक्षा क्षेत्रमा राजनीतिकरणभन्दा शिक्षालाई सबल र सशक्त बनाउने दिशामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेविसंघ सोलुखुम्बुका जिल्ला अध्यक्ष नवीन बस्नेत, नेविसंघका पूर्व उपाध्यक्ष तथा जय नेपाल फाउन्डेसनका सदस्य हिरा बि .क. , युवा नेता युबराज बस्नेत लगायतका वक्ताहरूले शिक्षाको गुणस्तर अभिवृद्धिमा यस्तो सहयोग कार्यक्रमको प्रभावकारी योगदान हुने विश्वास व्यक्त गर्नुभयो।उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चक्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो।
जय नेपाल फाउन्डेसनले सोलुखुम्बु जिल्लाका विभिन्न विद्यालयहरूमा निरन्तर रूपमा शैक्षिक तथा सामग्री सहयोग कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।