सोलुखुम्बु,जेठ १७ – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. २ दोदीमा अवस्थित ‘बुधबारे’ बजार क्षेत्रमा १०० वाट क्षमताका ६ वटा विजुली बत्ति जडान गरिएको छ। गाउँपालिका र वडा नं. २ को संयुक्त सहकार्यमा सम्पन्न यस कार्यले बजार क्षेत्रलाई उज्यालो बनाउने मात्र होइन, व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य लिएको छ।
विजुली बत्ति जडान कार्यक्रममा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धन्जन राई, वडा नं. २ का वडा अध्यक्ष सिताराम काफ्ले, बजार व्यवस्थापन समितिका सचिव सुरज के.सी., स्थानीय व्यापारी, अभिभावक र सर्वसाधारणको उपस्थिति थियो। अध्यक्ष राईले स्थानीय विकासका लागि समुदायसँगको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस किसिमका परियोजनाहरूले आधारभूत पूर्वाधारमा सुधार ल्याउने विश्वास व्यक्त गरे।
वडा अध्यक्ष काफ्लेले भने बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सुविधा सम्पन्न बनाउने अभियान अन्तर्गत विजुली बत्ति जडान गरिएको जानकारी गराउँदै आउने दिनमा यस बजार क्षेत्रमा सि.सि. टिभि को व्यावस्था गर्ने पनि उल्लेख गर्नुभयो
बजार व्यवस्थापन समितिका सचिव सुरज के.सी.ले बजारमा थप सुधारका योजना अघि सार्दै नियमित सरसफाइ, ट्राफिक व्यवस्थापन, पार्किङ सुविधा, को सहज व्यवस्थापनमा समिति क्रियाशील रहेको बताए।स्थानीय व्यापारी तथा अभिभावकहरूले बजार क्षेत्रमा उज्यालो पुगेसँगै सुरक्षा, व्यापार, आवत–जावत र वातावरण सुधारमा ठूलो सहजता आउने प्रतिक्रिया दिएका छन्।बिजुली बत्ति जडानसँगै बुधबारे बजार अब थप सुरक्षित र व्यवस्थित हुँदै गइरहेको छ। आगामी दिनमा अझ थप पूर्वाधार विस्तार र सुधारको अपेक्षा स्थानीयले व्यक्त गरेका छन्।