काठमाडौ । नेपालमा युवाहरूको ठूलो संख्या हरेक वर्ष रोजगारीको खोजीमा विदेश पलायन भइरहेको छ। पर्याप्त रोजगारीको अभाव, न्यून आर्थिक अवसर, अस्थिर राजनीति, र गुणस्तरीय जीवनको खोजीले गर्दा उनीहरू आफ्नो जन्मभूमि छोड्न बाध्य छन्।
नेपालमा बेरोजगारीको दर उच्च छ। शिक्षा लिएर पनि काम नपाउने, काम पाइहाले पनि न्यून तलबमा चित्त बुझाउनुपर्ने अवस्था छ। सरकारी नीति दीर्घकालीन नभएकाले उद्योगधन्दा फस्टाउन सकेका छैनन्। जसले गर्दा नेपालमा रोजगारी सिर्जना हुन सकेको छैन ।
देश छोड्दा युवाहरूको मनभित्र उत्साहभन्दा बढी पीडा हुन्छ। उनीहरू आफ्ना परिवार, समाज र जन्मभूमि छोड्न चाहँदैनन्, तर बाध्यता यस्तो छ कि विदेशिनु नै उनीहरूको अन्तिम विकल्प बनेको छ।
यहि बाध्यता र विकल्पको बाटो रोज्दै भावुक हुँदै विदेशीएका छन् देवराज अधिकारी पनि । २ वर्षअघि अनेरास्ववियुको तर्फबाट बर्दिया बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत बनिसकेका देवराज अधिकारी देश छोडेर विदेश पलायन भएका हुन्।