काठमाडौं। नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको निर्वाचनबाट आचार्य ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए।
उनका प्रतिद्वन्दी डा.शशि थापा पण्डितले २७ मत पाइन्। निर्वाचित भएसँगै आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाएका छन । सम्पूर्ण बालसाहित्यकारहरुको एउटा साझा संस्थाको रुपमा विकास गर्दै लैजाने र सातै प्रदेशको समितिलाई मजबुद ढंगले अगाडि बढाउने छु,ु निर्वाचित अध्यक्ष आचार्यले भने। २०४४ साल असोज ८ गते स्थापना भएको नेपाल बाल साहित्य समाज नेपाली बालसाहित्य र सर्जकहरुको अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्दै आएको गैरनाफामूलक संस्था हो।
उनले हरेक वर्ष हुने राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय बनाउनेसमेत बताए। राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय सम्मेलनमा स्तरोन्नति गर्ने र अन्तरराष्ट्रिय स्तरका साहित्यकारबाट पेपर प्रस्तुति दिने प्रबन्ध मिलाउने प्रयास गर्ने समेत उनले बताए ।
नेपाल बाल साहित्य समाजको नयाँ कार्यसमितिका लागि चैत ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका थियो। उक्त दिन महासचिवमा विष्णुकुमार खत्री, विष्णु केसीको मात्र उम्मेद्वारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका थिए। त्यसैगरी सचिवमा भानु भट्टराईको उम्मेद्वारी परेको थियो, भने प्रकाशकतर्फ केन्द्रीय सदस्यमा केशव पराजुली, चित्रकारतर्फ अर्पिता शाक्य र महिलातर्फ यशोदा अधिकारीको मात्र उम्मेदवारी परेको थियो। योसँगै यी पदमा निर्वारिरोध निर्वाचित भएका थिए।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, खुला दुई सदस्य र शिक्षकतर्फ भने दोहोरो उम्मेदवारी परेको थियो। निर्वाचन समितिले चैत ७ गते उम्मेद्वारी फिर्ताको समय तोकेको थियो। समाजका अधिकांशले सर्वसम्मत नेतृत्वको चयनको प्रयास एगरेका थि। चैत ७ गते शिक्षकतर्फको सदस्यमा कुरा मिल्यो। अनिरुद्र अर्याल र कृष्णप्रसाद नेपालको उम्मेदवारी परेकोमा नेपालले उम्मेदवारी फिर्ता लिएसँगै अर्याल निर्विरोध भए।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, खुला दुई सदस्यमा भने यसअघिका संस्थापक समूह भनेर चिनिएका डा.ध्रुव घिमिरे समूहले कुनै पनि हालतमा आचार्यलाई रोक्ने भन्दै उम्मेदवारी फिर्ता लिएनन्। बरु जसरी पनि हराउने नीतिका साथ चुनावी मैदानमा आचार्यविरुद्ध डा.शशी थापाको प्यानल उभ्यायो। थापाको प्यानल उभ्याउनेमा डा.घिमिरेसँगै यसअघिका वरिष्ठ उपाध्यक्ष कृष्णदीप सिग्देल, पूर्व महासचिव यशु श्रेष्ठ, सल्लाहकार हरि भण्डारी, निवर्तमान उपाध्यक्षद्वय नवराज रिजाल र डा.कपिल लामिछाने लागेका थिए।
डा.शशी बालसाहित्य समाजमा खासै सक्रिय नरहे पनि शनिबार भएको निर्वाचनमा २७ मत खस्दा घिमिरे समूह खुसी देखिएका थिए। उक्त समूहको उपाध्यक्षमा डा.यादेवी ढकाल, कोषाध्यक्षमा राजेन्द्रभक्त जोशी र सदस्यमा समन श्रेष्ठ र सुशीला ढकाल थिए। कोषाध्यक्षका उम्मेद्वार यसअघि दुई कार्यकाल कोषाध्यक्ष भइसकेका व्यक्ति हुन्।