काठमाडौं | नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच बैशाखमा पार्टी एकता हुने भएको छ । एकीकरणलाई अन्तिम रूप दिन दुवै पार्टीले कार्यदल समेत गठन गरिसकेका छन् ।
दुवै पार्टीका कार्यदलले प्रतिवेदन बनाउने काम गरिरहेको बताइएको छ । प्रतिवेदन पार्टीमा बुझाइसकेपछि पार्टी एकता घोषणा गर्ने तयारी छ । पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न लगायतमा सहमती जुटिसकेको नेताहरु बताउँछन् ।
पार्टीको नाम ‘जनमत पार्टी’ रहने र अध्यक्ष डा.सीके राउत रहने सहमति भइसकेको बताइन्छ । सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने सहमति छ । चुनाव चिह्न ढकिया रहने सहमति भएको छ । अहिले संसदमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । दुवै दलको एकतापछि १० सांसद हुनेछन् ।